तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसी अगाडि बढाउन सकिँदैन: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताउनुभएको छ ।

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरू असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताउनुभयो ।

file photo

जनताको हित र समाज कल्याणका लागि आफ्नो पार्टी क्रियाशील रहेकाले मुलुकको राजनीतिमा पार्टीले विशिष्ट भूमिका निर्वाह गरी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले आफूहरूले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिस्ट आन्दोलनको निरन्तरता स्वरूप विद्रोह गर्नुपरेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरङ्ग पैदा गरेको उल्लेख गर्नुभयो ।

वर्तमान गठबन्धन तीन तहको निर्वाचनमा मिलेर जान पटक पटक छलफल भएको भन्दै नेता नेपालले प्रतिगामीहरूको विरुद्धमा मोर्चाबन्दी हुने र त्यस्तो मोर्चा केही दिन अगाडि भएको राष्ट्रियसभा निर्वाचनले लक्षित गरिसकेकाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button