जनताले हाम्रा काम कारबाहीको निगरानी गरिरहेका छन् : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सकारात्मक सोचले राम्रो नतिजा हासिल हुने भन्दै संसद्ले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान प्रदान गर्न आज धुलिखेलमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीको निगरानी गरिरहेको समेत बताउनुभयो ।
उहाँले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण र चरित्र भएकाले कसैलाई पनि अति गर्नेतर्फ जान नदिने बताउनुभयो ।
सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको बताउँदै संसद्बारे उठेका प्रश्न, आलोचना र आएका सुझावलाई सकारात्मक रुपमा लिएको समेत बताउनुभयो ।
उहाँले अहिले भइरहेका बहसले देश हितका लागि निष्कर्षमा पुर्याउने उल्लेख गर्दै जनता नै सर्वोपरि र ठिक निर्णय गर्ने र तटस्थ, निष्पक्ष र स्वतन्त्रमा ठूलो तागत भएको स्पष्ट पार्नुभयो ।
सभामुख सापकोटाले मातृभूमिप्रति इमानदार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुन पनि बताउनुभयो ।
सभामुख सापकोटाले सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघोलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गर्नुभयो ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल संसद्ले कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुरूप गर्न नसकिएको बताउनुभयो ।
उहाँले पर्याप्त बैठक तथा छलफलहरू हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा सिकाइका विविध पक्ष छुटेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी प्रदेशसभाका उपसभामुखहरूले प्रदेश सञ्चालनका क्रममा प्राप्त अनुभव, समस्या र चुनौतीहरू राख्नुभएको थियो ।
संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले उपसभामुखबारे संवैधानिक, कानुनी राष्ट्रिय अन्तर्राष्ट्रिय व्यवस्था, अनुभव र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्