तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको प्रभाव : सरस्वती पूजामा मूर्ति बिक्री नहुँदा मूर्तिकार चिन्तित

बीरगंज  । कोरोना सङ्क्रमणको कारण शैक्षिक संस्था प्रभावित भएपछि बीरगंज तथा बारा, पर्सामा सरस्वती पूजाका लागि बनाइएको मूर्तिहरू बिक्री नहुँदा मूर्तिकारहरू चिन्तित भएका छन् । 

बीरगंज तथा मधेस प्रदेशमा धूमधामका साथ मनाइने सरस्वती पूजा विगत दुई वर्षदेखि कोरोना सङ्क्रमणको कारण पूजा नै प्रभावित हुँदा मूर्ति बिक्रीमा कमी आएको हो । 


तराईमा विशेष गरी विश्वकर्मा पूजा, दुर्गा पूजा, गणेश चर्तुथीलगायत वसन्त पञ्चमीमा मूर्तिकारहरूले बनाएको माटाका मूर्तिहरूलाई ल्याएर भव्य रुपमा पूजाआजा गर्ने प्रचलन रहेको छ । 

अहिले वीरगंजमा दुई दर्जनभन्दा बढी स्थानमा मूर्तिकारहरूले सरस्वतीको मूर्ति झकिझकाउका साथ राखेर बिक्री गर्ने तयारीमा भए पनि कोरोना सङ्क्रमणको कारण शैक्षिक संस्थाहरू सञ्चालन नहुँदा मूर्ति बिक्री हुनेमा शङ्का उब्जिएको वीरगन्ज रानीघाटका मूर्तिकार हरिशंकर कुम्हालले बताउनुभयो । 

नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका मूर्तिकारहरूले डेढ महिना अगाडीबाट आएर सरस्वतीका मूर्ति तयार गरेका छन् । 

 कोरोना संक्रमण हुनु अघि वार्षिक रुपमा आफूले १ सय ५० वटाभन्दा बढी सरस्वतीको मूर्ति बिक्री गरेको कुम्हालले अहिले ३० देखि ४० वटा पनि मूर्ति विक्री नहुने हो कि चिन्ताले सताएको बताउनुभयो । 

विद्याकी आराध्यदेवी माता सरस्वतीको मूर्ति स्थापना गरी विद्यालयमा मात्रै नभई विभिन्न क्लब तथा सामाजिक सङ्घ संस्थाहरूले समेत वीरगंजमा धूमधामसँग सरस्वती पूजा गर्ने परम्परालाई कोरोनाले प्रभावित पारेको ज्ञान ज्योति उच्च मावि वीरगंजका प्रिन्सिपल राज किशोर यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button