राष्ट्रिय परिचयपत्र बनाउन तनहुँ प्रशासनमा सेवाग्राहीको भीड

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ ।
सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताउनुभयो ।
सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै तनहुँमा पनि विवरण सङ्कलन सुरु भएको थियो ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण सङ्कलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ ।
दैनिक सयौँ बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको सहायक प्रजिअ गैह्रेको भनाइ छ ।
यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने गरिए पनि पछिल्लो समय परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् ।
सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचय पत्र बनाउने सेवाग्राही बढेको हो ।
यसअघि एउटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले अहिले सेवाग्राहीको चाप बढेपछि दुई वटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ ।
तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउन सक्ने छन् ।
प्राप्त परिचय पत्र नम्बरको आधारमा राहदानी भर्न सकिने भएकाले पनि राहदानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालय आउन थालेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्