रुपन्देहीमा कृषि ज्ञान केन्द्र स्थापना

रुपन्देही ।कृषि क्षेत्रका लागि उर्वर भूमि मानिने रुपन्देहीमा कृषि ज्ञान केन्द्र नहुँदा यहाँका किसानहरूलाई समस्या परेको थियो । नवलपरासी र रुपन्देही दुबै जिल्ला हेर्ने गरी परासीमा कार्यालय रहेकाले यहाँका किसानहरूले रुपन्देहीमै कार्यालय स्थापनको माग गर्दै आएका थिए ।
स्थानीयको माग अनुसारको सेवा प्रवाहमा कठिनाइ भएपछि प्रदेशको कृषि मन्त्रालयले रुपन्देहीमा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालय स्थापनापछि आइतबार कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका सूचना अधिकारी अनिलकुमार कानु बनियाले प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रकम बराबरका वार्षिक कार्यक्रम तय गरिएको बताउनुभयो ।
कार्य सम्पादनका लागि अब पाँच महिना मात्र बाँकी छ । पाँच महिनामा कार्यक्रम कार्यान्वयनमा ल्याएर लक्ष्य अनुसारको प्रगति हासिल गर्न ज्ञान केन्द्रले रणनीतिक योजना बनाएको कार्यालय प्रमुख सन्देश धितालले बताउनुभयो । अवधि कम भएकाले स्थानीय तहका कृषि प्राविधिकको सहयोगमा कार्य तालिका अनुसार काम अगाडि बढाउने उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रले आइतबार १६ वटै स्थानीय तहका कृषि अधिकारीहरूसँग छलफल गरी समन्वय गरेर अगाडि बढ्ने जनाएको छ । कार्यक्रम सञ्चालन हुने स्थानीय तहका कृषि प्राविधिकले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । सम्बन्धित स्थानीयका कर्मचारीको समन्वयमा प्रदेशका कार्यक्रम सञ्चालन भए बेथिति रोकिने रोहिणी गाउँपालिका कृषि प्राविधिक सहायक जितेन्द्र यादवले बताउनुभयो।
देवदह नगरपालिका कृषि प्राविधिक पबिन्द्र मल्ल तथा शुद्धोधन गाउँपालिका कृषि प्राविधिक सहायक रमेश रेग्मीले जिल्लामै ज्ञान केन्द्रको स्थापनाले काम गर्न धेरै सजिलो हुने बताउनुभयो । केन्द्रले तथ्याङ्क अद्यावधिक गर्ने, प्राविधिक सेवा तथा प्राविधिकको क्षमता अभिवृद्धि, अल्पकालीन र दीर्घकालीन योजना तथा सूचकहरू तर्जुमा र कार्यान्वयन गर्ने, व्यावसायिक तथा दिगो खेती प्रवर्धन र उन्नत प्रविधि, सामूहिक खेती तथा बजारीकरण प्रवर्धनमा जाने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
दुई महिनाअघि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले थप चार वटा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । जसमा अर्घाखाँची, नवलपरासी र गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र रुपन्देहीमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्