दशरथ चन्दको जन्म घरमा सहिद दिवस मनाइयो
बैतडी । सहिद दशरथ चन्दको जन्मभूमि बैतडीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेर सहिद दिवस मनाइएको छ ।
कोरोना भाइरसका कारण सीमित मानिसको उपस्थितिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
सहिद दशरथ चन्दको जन्म घर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको र नेपाल प्रहरीले सलामी अर्पण गरेको उहाँले बताउनुभयो । सहिद चन्दको सालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि सहिदले खेलेको भूमिकाका बारेमा चर्चा समेत भएको थियो ।
तत्कालीन जहाँनिया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने चार शहीदमध्ये दशरथ चन्द पनि एक हुनुहुन्छ । सहिद दशरथ चन्दको जन्म विसं १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।
महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा पनि उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो ।
विसं १९९० मा बारा जिल्लाको मौवादहमा टङ्कप्रसाद आचार्यसँग दशरथ चन्दको पहिलो पटक भेट भएको थियो । विसं १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभएको थियो ।
त्यसपछि थाइल्यान्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनुभएको थियो । त्यो बेला उहाँ नेपाल प्रजा परिषद्को कार्यकर्ता पनि हुनुहुन्थ्यो । दशरथ चन्द र गङ्गालाल श्रेष्ठ एउटै जेलमा पर्नुभएको थियो ।
तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्