मन्त्री श्रेष्ठद्वारा अलपत्र नेपालीको समस्या समाधानबारे युएईका राजदूतसँग छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गर्नुभयो ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गर्नुभयो ।
अनधिकृत रुपमा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स सञ्चालकहरू, बिचौलिया तथा लामो समयदेखि युएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरूले नै नक्कली माग पत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृत्ति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरूलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गर्नुभयो ।
मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरूको समस्याको स्थायी समाधान नहुन्जेल त्यही रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गर्नुभयो । त्यसरी अलपत्र परेका नेपालीहरूको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैर कानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफीको लागि पनि उहाँले आग्रह गर्नुभयो ।
राजदूत साइदले युएई गई समस्यामा परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले नक्कली माग पत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताउनुभयो ।
साथै उहाँहरुबीच नेपाल (युएई संयुक्त समितिको बैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो । ‘भिजिट भिसा’मा युएई पुर्याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स सञ्चालकहरू, दलाल तथा बिचौलियाहरू संलग्न रहेको पाइएको र उनीहरूबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्वद्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरू सम्मिलित कार्यदल पनि गठन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्