कोरोना विरुद्धको खोप २० हजार लिएर लगाउने गरेको खुलासा
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरसको खोप सरकारले निःशुल्क वितरण गरिरहेको भए पनि कतिपय ठाउँमा आर्थिक लाभ लिएर मात्र लगाउने गरेको पाइएको छ ।

महोत्तरी जिल्लास्थित महोत्तरी स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप जोनसोन एन्ड जोनसोन लगाउन सेवाग्राहीसँग घुस लिने गरेको पाइएको हो ।
कोरोना भाइरस विरुद्धको खोप लगाउँदा सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिने हेल्थ असिस्टेन्ट अजय कुमार साह पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एक विज्ञप्ति जारी गर्दै महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट साहले सरकारले निःशुल्क वितरण गरिरहेको कोरोना विरुद्धको खोप लगाउन २० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको जनाएको हो ।
यसैगरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा कार्यरत प्रहरी नायव निरीक्षक हरि खड्काको शैक्षिक योग्यता नक्कली भेटिएकाले उनीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्