रामपुर अस्पताल समयमा निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

पाल्पा । जिल्लाकै ठूलो सरकारी अस्पताल रामपुर अस्पताल निर्माण समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।
तीन वर्षमा निर्माण कार्य पुरा गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले निर्माण कार्य पुरा नगरेकाले सेवा प्रवाह प्रभावित भएको हो ।
२०७२ कात्तिकमा रामपुर अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरेको रबिना कन्स्ट्रक्सनले निर्माण कार्य हालसम्म पुरा नगरेकाले दैनिक रुपमा अस्पतालले प्रवाह गर्ने सेवा खुम्चिएको अस्पतालका प्रमुख विजय परियारले बताउनुभयो ।
नेपाल सरकारका तत्कालीन सचिव शान्त बहादुर श्रेष्ठले प्राथमिक स्वास्थ्य केन्द्रबाट रामपुर अस्पतालमा रूपान्तरण गरेसँगै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रकम पनि निकासा गरिएको थियो । सचिव श्रेष्ठ सचिव पदबाट अवकाश भएको एक वर्ष पछि मृत्यु भयो । मृत्यु भएको पनि दुई वर्ष भयो । तर भवनको निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेको स्थानीय अमृत काफ्ले बताउनुहुन्छ ।
मूल्य अभिवृद्धि कर बाहेक १८ करोड रुपैयाँ ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पटक पटक विभिन्न बहाना बनाएर काम अगाडि बढाएन । यस भवनको प्राविधिक रेखदेख गर्न पनि ठेकेदार नभेटिने गरेको स्थानीय बासिन्दा कृष्ण कुमार अर्याल बताउनुहुन्छ ।
जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल भए पनि भवनको समस्याका कारण अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई पानी चुहिने पुरानो भवनबाट सेवा प्रवाह भएको छ । दैनिक रुपमा दुई सय पचास देखि तीन सय पचास सम्म बिरामी आउने अस्पताल भएपनि भवनको समस्याका कारण अन्य सुविधा समेत खुम्चिएको दुखेसो पोख्दै स्थानीय मयुरा रेग्मी बताउनुहुन्छ ।
स्थानीय सरकारले पटक पटक निर्माण कम्पनीलाई घच घचाउने काम नगरेको होइन । सङ्घीय सरकार तथा प्रदेश सरकारबाट स्थानीय सरकारसँग कुनै पनि समन्वय नभएकाले पनि स्थानीय सरकारलाई निर्माण कम्पनीले टेर्नै छाडेको बताउनुहुन्छ रामपुर नगरका प्रमुख रमण थापा ।
अस्पताल प्रशासनले निर्माण कम्पनीलाई दर्जनौँ पटक पत्राचार गरेको छ । दुई वर्ष अगाडि पनि तीन महिनामा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको अस्पतालका प्रशासन शाखा प्रमुख हिरा बि.क बताउनुहुन्छ ।
निर्माण कम्पनीका प्राविधिक मोहमद अन्सारुल पनि निर्माण कार्य विलम्ब भएको स्वीकार गर्नुहुन्छ । यस पटक कार्य प्रगति ९५ प्रतिशत पुरा भएको छ । चैत मसान्त सम्ममा बाँकी काम सकिने गरी काम अगाडि बढेको अन्सारुलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्