तपाईँ सुन्दै हुनुहुन्छः

गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारद्वारा रेडियो नेपालकर्मी राना पुरस्कृत

स्याङ्जा । रेडियो नेपाल स्याङ्जा संवाददाता कला राना सम्मानित हुनुभएको छ । नेपाल प्रेस चौतारी स्याङ्जाको पाँचौँ अधिवेशनका अवसरमा संवाददाता राना गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुनुभएको हो । 

गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कार एमाले केन्द्रीय सचिव, सङ्घीय सांसद तथा पूर्व मन्त्री पद्मा अर्यालको स्व. बुवाआमा गुप्तप्रसाद अर्याल र तारा अर्यालको स्मृतिमा स्थापित पुरस्कार हो । 

एक दशक बढी पत्रकारिता क्षेत्रमा रही समाजलाई सुसूचित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै सञ्चारीका समूह स्याङ्जाकी अध्यक्ष समेत रहनुभएकी रानालाई अधिवेशन उद्घाटनका अवसरमा एमाले सचिव एवं प्रतिष्ठानकी संरक्षक अर्यालले नगद रु १० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाई पुरस्कृत गर्नुभएको हो । 

उद्घाटनका अवसरमा सचिव अर्यालले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पछिल्लो समय पत्रकारितामाथि नै प्रश्न उठिरहेको भन्दै स्वतन्त्र पत्रकारिता, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । २०७६ सालमा स्थापित प्रतिष्ठानले पत्रकारिता, साहित्य, समाजसेवामा काम गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष अनन्त अर्यालले बताउनुभयो । 

भाषा साहित्यलाई प्रवर्द्धन तथा संवर्द्धन गर्ने, समाजसेवाका साथै पत्रकारिता जगतका व्यक्तित्वहरूलाई समेत प्रोत्साहन गर्ने प्रतिष्ठानको उद्देश्य रहेको अध्यक्ष अर्यालले बताउनुभयो । त्यस्तै अधिवेशनका अवसरमा राना सहित तीन पत्रकार पुरस्कृत भएका छन् । इन्द्र ईना स्मृति पुरस्कारबाट वालिङ टेलिभिजनका मोहन सुनार र स्याङ्जा खबरका सुनिल न्यौपाने नगद ५/५ हजार राशि सहित पुरस्कृत हुनुभएको छ । चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे र पूर्व अध्यक्ष हिमलाल पराजुलीलाई समेत चौतारीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको छ ।

यसैबीच चौतारीको पाँचौँ अधिवेशनले हरिप्रसाद अर्याल सुशीलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कोभिडको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सीमित मात्रामा पत्रकारहरूको सहभागितामा पाँचौँ अधिवेशन सम्पन्न गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवं चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुलीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button