तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाले माघभित्रै योजना सम्झौता सक्ने

जुम्ला । स्थानीय तहले असार १० गते भित्र वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउँछन् । बजेट ल्याइ सकेपछि चालु आर्थिक पहिलो चौमासिकको भदौ असोजमै चालु तथा पुँजीगत अख्तियारी प्राप्त हुन्छ । स्टमेट अनुसार गुणस्तरीय काम समयमै गर्न तथा पुँजीगत खर्च बढाउन भदौ असोजमै योजना सम्झौता गर्नु पर्नु पर्ने हो । 

तर असोज शुरु भएसँगै दशै तिहार जस्ता चाडले बिदा हुने, मङ्सिरदेखि माघ अन्तिम सम्म चिसोले काम गर्न नसकिने, फागुन चैत अन्तिम सम्म चिसो कटाउन जिल्ला बाहिर गएका केही कर्मचारी, स्थानीय नफर्किने समस्या छ । 

वैशाख जेठमा योजना सम्झौता गरेर आर्थिक वर्षको अन्त्य असार महिनामा  असारे विकासको चटारो शुरु हुन्छ । जसले गर्दा नत स्टमेट अनुसारको विकास निर्माणको काम हुन्छ । नत लक्ष्य अनुरूपको पुँजीगत खर्च नै बढी हुन्छ । परिणाम स्वरूप राज्यको करोडौँ खच भइरहने, विकास निर्माणमा अपेक्षित उपलब्धि नहुने र विकासका नाममा उपभोक्ता समिति मोटाउने प्रवृत्ति बढी छ । 

त्यसैले जुम्लाको तातोपानी गाउँपालिकाले माघ महिना भित्रै सबै योजना सम्झौता गरी सक्ने लक्ष्य लिएको छ । तातोपानीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर आए लगत्तै मिलन बुढ्थापाले वडाध्यक्षहरू सँग छलफल गरी, कर्मचारीको बैठक बसेर पालिकाका ८ वटै वडामा चालु आवमा निर्माण हुने सबै योजना माघ भित्रै सम्झौता गरी सक्ने तयारी गरेका छन् । 

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापा, तस्बिर : सागर परियार ।

बजेटको पुँजीगत खर्च बढाउन, स्टमेट अनुसारको गुणस्तरीय विकासे काम गर्न माघ भित्रै सबै योजना सम्झौता गर्दै छौ । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले भन्नुभयो,“सबै वडाध्यक्षहरू सँग छलफल भइसकेको छ । योजना सम्झौताका लागि कर्मचारी पनि तयारी अवस्थामा छन् । ढिला योजना सम्झौता विकास पनि कम हुने, बजेट खर्च पनि कम हुने समस्या छ । फागुन चैतबाटै काम शुरु हुने गरी माघ भित्र योजना सम्झौता टुङ्गाउने तयारी छ ।”

दैनिक कोभिड–१९ को तेस्रो भेरियन्ट संक्रमण फैलिँदै गएको र पछि योजना सम्झौता गर्दा भिडभाड भएर सङ्क्रमण बढ्ने जोखिम सँगै काम ढिला हुने समस्या भएकोले योजना सम्झौता छिटै सकाएर ढिलाको चैत पहिलो साताबाट सबै काम शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाई छ । 

झण्डै १४० बढी योजना निर्माण हुँदै

तातोपानी गाउँपालिकामा चालु आवमा झण्डै १ सय ४० भन्दा बढी विभिन्न योजना निर्माण हुने भएका छन् । योजना अधिकृत ओम बहादुर चन्दका अनुसार पालिकाका ८ वटा वडामा कृषि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, भवन, पदमार्ग, मठमन्दिर लगायतका विभिन्न १ सय ४० बढी योजना निर्माण हुने भएका हुन् । चालु आवमा निर्माण हुने सबै योजनालाई माघ भित्रै सम्झौता गरी सक्ने र ढिलामा चैतबाट काम शुरु गर्ने तयारी स्वरूप काम भइरहेको योजना अधिकृत चन्दले बताउनुभयो । 

योजना शाखाको रेकर्ड अनुसार तातोपानीको वडा नं. १ मा १० वटा योजना, वडा नं. २ मा ७ वटा योजना, वडा नं.३ मा ८ वटा योजना र  वडा नं. ४ मा २१ वटा योजना निर्माण हुँदै छन् । 

त्यस्तै वडा नंं. ५ मा १३ वटा योजना, वडा नं. ६ मा २० वटा योजना, वडा नं. ७ मा ९ वटा योजना र वडा ८ मा १६ वटा योजना निर्माण हुने भएका छन् । भने जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत १३ वटा र जनता सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत २३ वटा योजना निर्माण हुने योजना शाखाले जनाएको छ । 

पालिकाको पुँजीगत बजेटलाई योजना सम्झौता पहिलो चौमासिकमा नै गरिसक्नु पर्ने भएपनि दुई महिना ढिला गरेर भएपनि माघ महिनामा योजना सम्झौता गरिने सकाउने समयमै काम शुरु गर्ने नयाँ कामको थालनी तातोपानी गाउँपालिकाले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button