स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको हो ।
उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा उपमहासचिव डा पौडेलले समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीलाई शपथ गराउनु भएको थियो । सो अवसरमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्