तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनामा यातायात कार्यालय चितवनद्वारा ४० करोड आम्दानी

चितवन । चालु आर्थिक बर्ष ०७८,७९ को ६ महिनामा यातायात व्यवस्था सेवा कार्यालय चितवनद्वारा करिब ४० करोड आम्दानी भएको छ ।

कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्म कार्यालयले सबै शीर्षकमा गरी ३९ करोड ९२ लाख १८ हजार ८४४ रुपैंया राजश्व सङ्कलन गरेको हो । कार्यालयले मुख्यतः यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना ,सवारी साधन कर,सवारी दस्तुर र आयकर शीर्षकमा कर सङ्कलन गर्दै आएको छ । कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शीर्षकमा कर सङ्कलन गर्ने गरेको छ भने सबै भन्दा कम प्रशासनिक दण्ड जरिवानाबाट असुलेको छ ।

जसअनुसार सवारीसाधन कर शीर्षकमा सो अवधिमा ३२ करोड २८ लाख ९७ हजार १२६ रुपैयाँ र प्रशासनिक दण्ड जरिवानाबाट ५६ लाख ४६ हजार ३सय ८६ रुपैंया कर सङ्कलन गरेको छ । यस्तै यातायात क्षेत्रको आम्दानीबाट २ करोड ८६ लाख ६८ हजार ४६० रुपैंया, सवारी दस्तुरबाट २ करोड ७३ लाख ७९ हजार ६०१ रुपैंया, र आयकर शीर्षकबाट १ करोड ४६ लाख २७ हजार २७० रुपैंया सङ्कलन गरेको छ ।

सबैभन्दा बढी सङ्कलन साउनमा कम भदौमा
कार्यालयले दिएको तथ्याङ्क अनुसार चालु आवको पुससम्ममा सबैभन्दा बढी कर सङ्कलन साउनमा भएको छ भने सबैभन्दा कम भदौ महिनामा सङ्कलन भएको छ । जस अनुसार साउन महिनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैंया र भदौ महिनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैंया सङ्कलन भएको छ ।

यस्तै असोज महिनामा ६ करोड ३५ लाख ८७ हजार ९८४, कात्तिकमा ६ करोड ७६ लाख ९६ हजार ४९८ ,मङ्सिर महिनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैंया र पुस महिनामा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैंया राजश्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छूटेका सवारीधनीहरुले साउन महिनामा कर तिर्न आउने हुनाले स्वाभाविक रुपमा साउन महिनामा बढी कर सङ्कलन हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महिना भन्दा बढी राजस्व सङ्कलन हुने गर्दछ । भदौ महिनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व सङ्कलन भएको उहाँको भनाई छ । कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । अहिले चालक अनुमति पत्र नवीकरणबाट पनि थप आम्दानी भएकोले लक्ष्यभन्दा बढिनै राजश्व सङ्कलन हुने कार्यालयको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button