तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्याण्डमा नयाँ सरकार गठन, अर्थमन्त्रीद्वारा भिडियो मार्फत शपथ ग्रहण

द हेग। नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ । 

नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गर्नुभएको छ । उहाँले योसँगै चौथो पटक सरकारको नेतृत्व गर्नुभएको हो ।

गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको समाचारमा जनाइएको छ ।

नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटिक अपिल, द डेमोक्रेट्स ६६ र क्रिश्चियन युनियन गरी चार पार्टी गठबन्धनमा रहेका छन् ।

शपथ ग्रहण समारोह द हेगस्थित राजदरबारमा आयोजना गरिएको थियो । तर नयाँ अर्थ मन्त्री सिग्रिड काग भने शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थिएन । गठबन्धनमा आवद्ध द डेमोक्रेट्स ६६ का नेत्रीसमेत रहनु भएकी काग कोरोनाभाइरसबाट सङ्क्रमित भएकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नपाउनु भएको हो । 

उहाँलाई राजाले भिडियो मार्फत शपथ ग्रहण गराउनु भएको थियो । राजाले मन्त्रीलाई  भिडियो मार्फत शपथ ग्रहण गराइएको नेदरल्याण्डको इतिहासमा यो नै पहिलो घटना भएको जनाइएको छ ।    सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button