निजगढ विमानस्थल निर्माणमा ढिलाइ गर्न हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले निजगढ विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज निजगढ विमानस्थल सम्बन्धी तयार पारिएको मास्टर प्लानको प्रस्तुतीकरणपछि प्रधानमन्त्री देउवाले निजगढ विमानस्थलसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको पनि स्तरोन्नतिमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दीर्घकालीन सोचका साथ निजगढ विमानस्थलको अवधारण अगाडी आएकाले जतिसक्दो चाँडो विमानस्थल निर्माणको काम अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले पोखरा विमानस्थलमा २५ अर्ब खर्च भइसक्दा पनि काममा ढिलाइ भएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रुख विरुवा कम कटानी गरी विमानस्थल निर्माणमा अगाडी बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मधेसको समृद्धिमा विशेष टेवा पुग्ने निजगढ विमानस्थल यथासक्य चाँडो निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले ठुला साना गरी पाँच लाख रुख विरुवा कटानी हुने जानकारी दिनुहुँदै टाङ्गीया बस्ती स्थानान्तरणको आवश्यक प्रक्रिया पनि अगाडी बढाइने बताउनुभयो ।
पत्रकारहरूको एक प्रश्नको जवाफमा मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारकभित्र कुनै पनि प्रकारका व्यापारिक प्रयोजनका निर्माण कार्यमा रोक लगाइने बताउनुभयो ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल तथा झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्