सङ्घीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्त्वपूर्ण अङ्ग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्रसेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ ।”
हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै सङ्घीयतालाई मजबुत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको स्थायी अङ्ग कर्मचारी जनतासँग दैनिक रूपमा प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ, जिम्मेवार रूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कर्मचारीले जनताको सेवकका रूपमा कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजनक तरिकाले सहजरूपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यवहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायक स्तरका कर्मचारीका लागि थालेको एक महिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक एवं व्यावहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो ।
कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जनालाई तालिम दिएर दोस्रो चरणको तालिम सञ्चालन गरिएको बताउँदै तालिममा ११ जिल्लाका सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालयका कर्मचारी सहभागी रहेको बताउनुभयो । लगभग दुई वर्षअघि स्थापित प्रतिष्ठानले पाँच वर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको बताउँदै उहाँले दुई वर्षभित्रमा सुविधा सम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल साबित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि दुई नम्बर थपिन्छ । तालिमका लागि सूचना प्रकाशन गर्दा १७८ जनाले आवेदन दिएको र तीमध्ये १२० जना छानिएका थिए ।







प्रतिक्रिया राख्नुहोस्