ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन हजारौँ पर्यटक भित्रिए
बीरगंज । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ को पहिलो दिन आज पर्साको पर्यटकीय स्थल ठोरीमा करिब ४० हजारभन्दा बढी को सङ्ख्यामा भारतीय तथा आन्तरिक पर्यटक भित्रिएका छन् ।
अङ्ग्रेजी नयाँ वर्ष २०२२ मनाउन भारतीय पर्यटक तराईको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी आएका हुन् ।
भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका बासिन्दा ठोरी घुम्न र वनभोजका लागि आएका ठोरी गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले बताउनुभयो ।

हुलाकी सडक खण्डको कारणले पनि ठोरी घुम्न आउने भारतीय तथा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताउनुभयो ।
आज शनिबार बिहानैदेखि गाडी र मोटरसाइकलमा भारतीय तथा आन्तरिक पर्यटकहरू ठोरीमा भिड लागेको छ । विशेष गरी बारा, पर्सा, रौतहट लगायतका जिल्लाका बासिन्दा पनि शनिबार आज नयाँ वर्ष मनाउन र ठोरी घुम्न तथा वनभोजको लागि ठोरीमा पुगेका छन् ।

विगतमा सडकको पहुँच राम्रो नहुँदा वीरगन्जबाट ठोरी जान सवारी साधनमा ३/४ घण्टा लाग्ने गरेकोमा अहिले १ घण्टामै आरामले पुगिने भएपछि ठोरीको महत्त्व अझ बढ्दै गएको छ । हरियाली पहाडले घेरिएको उपत्यका ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य बनेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ बताउनुभयो ।
ठोरीको अमृतधारा, राईधारा, सेतो पहाड, रातो पहाड, सिनेही पहाड, रानीवन, चिसापानी, सीता गुफा, वनशक्ति मन्दिर सँगै झुलङ्गे पुल र ढुङ्गा र रुखको जराको कलात्मक प्रदर्शनी हेर्न समेत भारत तथा नेपालका आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेको वीरगन्जबाट ठोरी घुम्न पुग्नु भएकी निर्मला पौडेलले बताउनुभयो ।
नयाँ वर्षमा हजारौँको भिड लागे पनि अन्य दिनमा समेत हाल ठोरीमा पुग्ने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भइरहेको ठोरीका होटेल व्यवसायी दिनेश नेपालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्