बागमती प्रदेशसभा बैठकमा एमाले अनुपस्थित

मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित हुनुभएको छ । बुधवार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहीबार पनि अवरुद्ध सृजना गरेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको थियो ।
विपक्षी दल नेकपा एमाले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिएको भन्दै बिहीबार बिहान ११ बजे बसेको बैठकमा अवरोध सिर्जना गरेको थियो । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधवार उठाएका प्रश्नहरूको जवाफ नदिएर मुख्यमन्त्री भाग्न खोज्नु लज्जास्पद भएको भन्दै जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताउनुभयो । विपक्षीको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
प्रदेशमा रहेको विपक्षी दलहरूले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिनुभएको थियो ।
त्यसपछि बिहीबारै सभामुख श्रेष्ठ र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच सदनमा जवाफ दिने विषयमा छलफल भएर प्रदेशसभा बैठक बोलाइएको थियो । प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाएकोमा दुई घण्टा ढिला गरी बैठक सुरु भयो । तर, यस बैठकमा एमाले सांसदहरू अनुपस्थित हुनुभयो ।

एमालेले केन्द्रको सिको गर्यो : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताउनुभएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रश्न उठाएर एमालेका सांसद संसदमा उपस्थिति नभएकोमा आपत्ति समेत जनाउनुभयो ।
मुख्यमन्त्री माथि लाञ्छना बोकेर हिँड्नु राम्रो नभएकोले आफ्नो प्रष्टिकरण दिन पाउनुपर्ने बताउँदै आफूले जवाफ दिने कार्यसूची हटाएकोमा समेत उहाँले सदनमा प्रश्न गर्नुभयो । उहाँले सुरुङ मार्ग बजेट अभावले स्थगित गरेको तर, बजेट नहटाएको बताउनुभयो ।
यस्तै विद्युतीय बस चार्जिङ स्टेसन र राम्रो सडक पूर्वाधार नभएसम्म सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । १२९० दिन मुख्यमन्त्री हुने डोरमणि पौडेलले ५६ दिन मुख्यमन्त्री बनेको आफूलाई काम गरेन भनेर प्रश्न गर्नु हास्यास्पद भएको बताउनुभएको छ । संसदमा बोल्दै उहाँले अष्टलक्ष्मी शाक्यकै पालामा १२ वटा मन्त्री रहेको भन्दै एमालेका प्रमुख सचेतक दीपक निरौला नेतृत्वको कार्यदलले मन्त्रालयको सङ्ख्याबारे निर्क्योल गरेको समेत उल्लेख गर्नुभयो ।
प्रदेश सभा बैठकमा दुई प्रतिवेदन पेश
बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा दुई वटा प्रतिवेदन पेश भएको छ । बिहीबार बसेको दोस्रो बैठकमा दुई वटा बैठक पेश भएको हो । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका ज्येष्ठ सदस्य रजनी अमात्य जोन्छेले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिको निर्णयको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्