तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा. कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्त्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेस जन र नेपाली जनताको घरदैलोमा पुर्‍याएको बताउनुभयो । “पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो”, उहाँले भन्नुभयो । 

पार्टीलाई जबाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान् युवालाई लिएर आफू अगाडि बढेको कोइरालाको भनाइ थियो । निर्वाचनमा पराजित भए पनि राजनीति जितेको उहाँ बताउनहुन्छ । नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रूपान्तरण र नयाँ ढङ्गले सञ्चालन गर्नका लागि आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापतिमा पुनः निर्वाचित देउवालाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button