तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसमा  पूर्णप्रसाद पौडेलसहित २९ जनालाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । 

बिहीबारे बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो रकम क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिनुभयो । 

यस्तै,  सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा.दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गर्नुका साथै नेपाल राजश्व परामर्श विकास समितिको सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद् बैठकले सन्दिपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, सरकारले न्याय सेवाका विनोद कुमार भट्टराई र रामप्यारी सुनुवारलाई न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्ति गर्ने, महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र सीमा बलको कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने र नेपाल सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको छ । 

यस्तै, सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको पहिलो संशोधन गठन आदेश २०७८ र शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलगायत विभिन्न १३ स्थानीय तहलाई विभिन्न परियोजनाका लागि जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button