तपाईँ सुन्दै हुनुहुन्छः

वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट सेवाको उपलब्ध गराउने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट सेवाको उपलब्ध गराउने भएको छ । 

काठमाडौँमा बुधवार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गर्दै उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित नयाँ प्याकेज ल्याएको जनाएको छ ।

योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तीमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ ।

उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तीमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले बताउनुभयो ।

१५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । 

विभिन्न तथ्याङ्कले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हाराहारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ । 

साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तीमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button