कांग्रेसमा नयाँ नेतृत्वः आज उम्मेदवारी दर्ता, सोमबार मतदान

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाका लागिआजदेखि मनोनयन दर्ता हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।
मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
उहाँले भन्नुभयो, “काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।” मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मङ्सिर २६ गते आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उहाँले भन्नुभयो, “आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।”
कांग्रेसमा सभापति एक, उपसभापति दुुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था विधानमा छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
नेपाली काँग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा–छुट्टै शुल्क निर्धारण गरिएको छ । सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ । भने उपसभापति र महामन्त्री २५–२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ । सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्