वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना
पाँचथर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको सामी परियोजना प्रभावकारी बनाउन पाँचथरका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मूल नारालाई लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत तेस्रो चरणमा भइरहेको हो ।
परियोजनाले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमूलक तालिमहरू निःशुल्क रूपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया,कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिइने बताइएको छ ।
पाँचथर जिल्लाका ४ वटा स्थानीय तहहरूमा सञ्चालन भइरहेको परियोजनामा चालु आर्थिक वर्षमा २१ लाख ९० हजार बजेट विनियोजन गरिएको छ । फिदिम नगरपालिका, फालेलुङ , फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको परियोजना प्रमुख राम कुमार कर्णले जानकारी दिनुभयो । परियोजनाले यस आर्थिक वर्षमा आप्रवासन स्रोत केन्द्र बाट वैदेशिक रोजगारीमा जाने ४ सय ३५ महिला र १ हजार २२ जना पुरुषलाई वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गरेको बताइएको छ ।
नेपालबाट हाल सम्म ५८ लाख भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा छन्, ती मध्ये ८० प्रतिशत मात्र कामदारले सहज तरिकाले काम गर्न पाइरहेका छन् भने बाँकीले विभिन्न समस्याहरू झेल्नु परेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहजकर्ता अम्बिका प्रसाद अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार परियोजनाले विदेशमा समस्यामा परेका नेपाली कामदारहरूलाई पनि आवश्यक सहयोग गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्