तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाको एकता महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष  नेताहरूले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय मुद्दाहरूमा सबै दलहरू एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले पार्टीगत विचार फरक भए पनि राष्ट्रियता र लोकतन्त्रका पक्षमा सबै दलहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । 

समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराइ स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष प्रचण्डले वैचारिक अन्तर्विरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्ने बताउनुभयो  ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा भएका हरेक परिवर्तनमा कम्युनिष्ट पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्टहरु परिवर्तनको संवाहक भएकाले राजनीतिक र सामाजिक कुरीति र कुसंस्कार विरुद्ध एकताबद्ध भएर  लाग्नुपर्नेमा जोड दिनुभयो

अध्यक्ष नेपालले नेपाली जनताको चाहाना र भावना अनुरूप परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।

राप्रपाका अध्यक्ष एवं अध्यक्षका उम्मेदवार कमल थापाले नयाँ पुरानो, कुनै पनि बहानामा  पार्टीभित्र विभाजनको रेखा कोर्नु नहुने भन्दै  पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरूको उच्च मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।

राप्रपाको अध्यक्षका उम्मेदवार रहनुभएका राजेन्द्र लिङ्देनले पार्टीले उठाएका मुद्दालाई सफल बनाउन र एकचोटी कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्ने बताउनुभयो ।

तीन दिनसम्म चल्ने राप्रपाको  महाधिवेशनले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनपछि एकल नेतृत्व रहनेछ । जारी महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button