तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चमा पहिलो पटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा?

काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । 

सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलो पटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो ।     

उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौ वटा र एकल दुई वटा इजलास गठन भएका छन् ।     

कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन्?     
न्यायाधीशहरू हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । उहाँको इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङको मुद्दा परेको छ । 

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दी प्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरू परेका छन् ।          

न्यायाधीशहरू दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । त्यसमा बन्दी र अन्य विविध खालका मुद्दाहरू रहेका छन् । न्यायाधीशहरू हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ ।     
   

न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरू डा आनन्द मोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरू अनिलकुमार सिंह र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।     
   

न्यायाधीशहरू प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरू सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा, न्यायाधीशहरू तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ ।          

त्यस्तै, एकल इजलासहरूमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।          

गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?   
सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानुनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोला प्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ ।     

“गोला प्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रुपमा पेसी तयार गरी शुक्रवार प्रकाशन गर्नुहुन्छ,” सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भन्नुभयो, “मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरू रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।” 

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्नुहुन्छ । दुई वटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुई न्यायाधीश त्यहाँ रहनुहुन्छ । बाँकी न्यायाधीशहरूको संयुक्त इजलासका लागि तय गरिन्छ ।     

“जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ”–उहाँले थप्नुभयो, “बिजोर गतेका दिन जुनिएर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।”          

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरू राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरू एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ । 

श्रीलङ्का, युरोपेली मुलुकहरूमा अटोमेसन (स्वचालित) प्रणालीको प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो ।          

स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो : वरिष्ठ अधिवक्ता डा ज्ञवाली  
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार अटोमेसन प्रणाली सुरु नगर्दासम्म गोला प्रक्रियाबाट इजलास र मुद्दाको पेसी तोक्दा स्वच्छ सुनुवाइ हुन्छ । “प्रधानन्यायाधीशले मुद्दाको व्यवस्थापनबाट टाढा नै रहनुपर्छ भन्ने सिद्धान्त नै छ । 

विश्वका धेरै मुलुकमा अटोमेसनको अभ्यास छ” उहाँले भन्नुभयो,“न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनबाटै गर्नुपर्ने छ तर उक्त प्रक्रियाको प्रारम्भ नभएसम्म गोला प्रक्रियाबाट मुद्दाको स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो ।     

नेपाल बार एसोसिएसनले मङ्गलवार प्रेस विज्ञप्तिमार्फत गोला प्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ । यद्यपि, कतिपय बारमा आबद्ध कानुन व्यवसायीले पनि गोला प्रक्रिया नै स्वच्छ सुनुवाइको उचित मार्ग होइन भनेका छन् । 

प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले आजदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button