शान्ति, समृद्धि र विकासका लागि काँग्रेसको महाधिवेशन महत्त्वपूर्ण : उपसभापति निधि

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा शान्ति, विकास तथा समृद्धिका लागि पनि नेपाली काँग्रेसको १४औँ महाधिवेशनलाई सफल बनाउनका लागि कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
उपसभापति निधिले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जनकपुर नगर अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मुलुकमा जति पनि ठुला परिवर्तनहरू भएको छ त्यसमा काँग्रेसको ठूलो योगदान भएको बताउनुभयो ।
उहाँले मुलुकमा भएको विकृति एवं विसङ्गतिको अन्त्य गर्नका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू शासक होइन सेवकको रुपमा कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।
उपसभापति निधिले नेपाली काँग्रेसको १४औँ महाधिवेशनको सफल बनाउनका लागि सकभर काँग्रेसका सबै तहको नेतृत्व सर्वसम्मत गर्नका लागि जिल्ला तथा क्षेत्रका नेताहरूलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसको अगुवाइमा नै मुलुकमा सङ्घीयता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता सहितको संविधान निर्माण भएको बताउनुहुँदै यसमा समय सापेक्ष परिमार्जन गरेर सबैको माग सम्बोधन हुँदै जाने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता एवम् प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले नेपाली काँग्रेसको महाधिवेशनले काँग्रेसका नेता तथा कार्यकर्ताहरूमा नयाँ ऊर्जा थप भएको बताउनुभयो ।
नेपाली काँग्रेस जनकपुर नगर सभापति मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभाका सदस्य स्मृति नारायण चौधरी सहितका नेताहरूले बोल्नुभएको थियो । नगर अधिवेशनबाट जनकपुरमा काँग्रेसको नयाँ नेतृत्वको चयन हुने भएको छ ।
नयाँ नेतृत्वका लागि आकाङ्क्षी भएकाहरूका बीचमा सहमति हुने गरी गृहकार्य भएकाले नगर सभापतिमा अर्को कार्यकालका लागि सर्वसम्मतिमा पुनः मनोज कुमार साह निर्वाचित हुने निश्चित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्