तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा ८ सय ४५ गणक परिचालन

कास्की । राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसङ्ख्या बढ्ने देखाएको छ । 

२०६८ सालको जनगणनाको तुलनामा यस पटक डेढ लाख हाराहारी जनसङ्ख्या थपिने अनुमान गरेको तथ्याङ्क कार्यालय कास्कीले जनाएको छ । 

अघिल्लो जनगणनाअनुसार कास्कीमा चार लाख ९२ हजार जनसङ्ख्या छ । यो बढेर ६ लाख ३० हजार हाराहारी पुग्ने कार्यालयको अनुमान रहेको छ । 

राष्ट्रिय जनगणनाका लागि कास्कीमा ८ सय ४५ जना गणक खटिएका छन्  ।  

कास्कीमा जनगणना गर्ने गणक तथा सुपरीपेक्षकहरुलाई आवश्यक सामाग्री हस्तान्तरण यस अघि नै गरिएको थियो । 

विगत वर्षहरूमा सरकारी विद्यालयका शिक्षक तथा कम्रचारीहरुले गणना गर्दै आएका थिए तर यो पटक स्थानीय स्तरका गणकहरूले नै गणना गर्ने राष्ट्रिय जनगणना गण्डकी प्रदेश अधिकारी जग्गुलाल बस्यालले बताउनुभयो । 

कास्कीमा मात्रै ८ सय ४५ गणक र एक सय ९० जना सुपरीक्षक रहेका छन्  । कास्कीको प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख १६ हजार घरधुरी रहेका छन् । 

बस्यालले भन्नुभयो “अहिलेसम्म घर सङ्ख्या हेरेर अनुमान गरेका हौँ । अलिअलि तलमाथि हुनसक्छ । करिब त्यही हाराहारी आउँछ,” कार्यालय प्रमुख जग्गुलाल बस्यालले भन्नुभयो, “त्यसकै आधारमा गणकहरू खटाएका छौँ । मूल गणनापछि मात्रै आधिकारिक डाटा आउँछ ।” 

उहाँका अनुसार यहाँ एक लाख ४५ हजार घर छन् । त्यसमध्ये एक लाख १६ हजारमा मान्छे बसेका छन् । एक लाख ६८ हजार परिवार छन् । 

जनगणनामा जातजाति भाषाभाषीहरुले आफ्ना यकिन तथ्याङ्क नआउने होकी भन्ने चिन्ता व्यक्त गरेका छन् ।  

कास्कीमा रहेका विभिन्न जातीय सङ्घ संस्थाले जनगणनालाई मध्यनजर गरेर छलफल कार्यक्रम समेत सञ्चालन गरेको तमुधी नेपालका अध्यक्ष होम तमुले बताउनुभयो । 

मुख्य गरी बसाइसराइका कारण कास्कीको जनसङ्ख्या बढी हुने बताइएको छ । 

“जन्मदर घट्दो छ । गाउँमा भन्दा सहरमा यो अनुपात झन्  बढी छ,” बस्याल भन्नुहुन्छ, “विवाह ढिलो हुने र कम बच्चा जन्माउने कारण समग्र जनसङ्ख्या भने खासै बढ्ने सम्भावना छैन ।” 

कास्कीमा अन्यत्रबाट बसाइसराइ गरेर आउनेहरू धेरै भए पनि गण्डकीका अन्य जिल्लाको जनसङ्ख्या धेरै तलमाथि हुने सम्भावना छैन ।

एक जना सुपरिवेक्षकले ३ देखि ५ जना गणकलाई सहयोग गर्दै छन् । गणकलाई भूगोलको जानकारी दिने, गणकले भरेका विवरण रुजु गर्ने, फारम भर्न नसकेकालाई सहयोग गर्ने काम सुपरिवेक्षकले गर्ने उहाँले बताउनुभयो । सबै काम गणक र सुपरिवेक्षक मिलेर गर्नुपर्ने उहाँको भनाइ छ ।

यसअघि ३० भदौदेखि १८ असोजसम्म सञ्चालित राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरिवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सोही आधारमा मूल गणना हुनेछ । 

गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरण सङ्कलन गरिनेछ । 

दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिनेछ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button