प्रधानमन्त्री देउवाद्वारा शंखधर साख्वाः को शालिकमा माल्यार्पण

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको नयाँ थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
नेपाल संवत् ११४२ को अवसरमा आज बिहान आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाल संवत्को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा शंखधरलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको सुरुवात गर्नुभयो ।
प्रतिष्ठानले नेपाल संवत् र शंखधर साख्वाःको बारेमा पूर्ण जानकारी समेटिएर नेपाल संवत् एप: तयार पारेको हो ।
कार्यक्रममा सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस सह महामन्त्री डा.प्रकाश शरण महत, सांसद भीमसेनदास प्रधान, सांसद महेश बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ,मथिनपा प्रमुख मदन सुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ,उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर लगायतले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।
अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोको रुपमा रहेकाले यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इश्वी संवत् समेत समेटिएर तयार पारिएको छ ।
कार्यक्रममा शंखधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शंखधर प्रतिष्ठानलाई शंखर साख्वा:को २ किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो ।
यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शंखधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका पूव मेयर मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।
नेपाल संवत्का दिन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले विविध कार्यक्रम गरी उहाँको योगदानको सम्झना गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्