नेकपा(एस)को विदेश विभाग प्रमुखमा झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले न्यायपालिकामा देखिएको समस्याबारे पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव गङ्गालाल तुलाधरद्वारा आज जारी विज्ञप्तिमा पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको सचिवालय बैठकले न्यायपालिकामा देखिएको समस्याप्रति गम्भीर भई ध्यान दिई उपयुक्त निकास निकाल्न गठबन्धनमा छलफल गर्ने निर्णय भएको उल्लेख छ ।
बैठकबारे वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुुपर्नेमा जोड दिएको छ ।
यसैगरी बैठकले विदेश विभागसहित पाँच वटा विभाग गठन गरेको विज्ञप्तिमा उल्लेख छ । नवगठित विभागमध्ये विदेश विभाग प्रमुखमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उपप्रमुखमा प्रमेश हमालसहित ७ जना, सङ्गठन विभाग प्रमुखमा डा वेदुराम भुसाल र उपप्रमुखमा प्रकाश ज्वालासहित ११ जना, शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र उपप्रमुखमा लक्ष्मण केसीसहित ७ जना, विपद् व्यवस्थापन विभाग प्रमुखमा डा. गङ्गालाल तुलाधरसहित ५ जना, सहकारी विभागको प्रमुखमा गोविन्द कोइराला र उपप्रमुखमा टेकप्रसाद चौलागाईंसहित ७ जना र शिक्षा विभागको प्रमुखमा डा. तुलाधर, उपप्रमुखमा लक्ष्मण केसीसहित ७ जना हुनुहुन्छ ।
पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको र यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्