१६ औँ संस्करणको पोखरा म्याराथन फागुनमा हुने

कास्की । १६ औँ संस्करणको पोखरा म्याराथन आगामी फागुनमा हुने भएको छ । सर्वाधिक राशि रहेको सफल पोखरा म्याराथनको यो संस्करणमा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता बढ्ने विश्वास आयोजकले लिएको छ । अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शतप्रतिशत वृद्धि गरेको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने भएको छ ।
खुल्ला ४२ किमी म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पुर्याइएको घोषणा गरिएको छ । यो पुरस्कार राशि गत वर्षको १५ औँ संस्करण भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६ औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमी महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमी र छात्र/छात्रा ५ किमी, ह्विल चियर तथा दृष्टिविहीन दौडतर्फ समेत पुरस्कार राशि बढाइएको जनाइएको छ । ती दौडतर्फ समेत ५/५ हजार पुरस्कार राशिमा बढाइएको छ ।
नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पुर्याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले ४२ किमीतर्फको दोस्रो पुरस्कार २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना तर्फ ३० हजार प्राप्त गर्ने जनाइएको छ । अध्यक्ष पराजुलीले सबै विधातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशि गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिँदै उहाँले भन्नु भयो –“गत वर्ष पुरस्कार राशि कुल ८ लाख रहेकोमा यो वर्ष सबै विधागत रुपमा बढाउँदा १२ लाख ३० हजार पुर्याएका छौँ ।”

पुरस्कार राशिमा वृद्धिले दक्षिण एसियाली देशका धावक सँगै अन्य अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भन्नु भयो–“म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन मञ्चले लिएको लक्ष्य पुरा हुनेतर्फ हामी अघि बढेका छौँ यसका लागि सबै सरोकारवालहरूको सहयोगको उत्तिकै खाँचो छ ।” आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजना सँगै प्रथम पुरस्कार राशि १० लाख पुर्याउने लक्ष्यका साथ अघि बढेको बताउँदै नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, प्रायोजक सङ्घसंस्थाहरू र सरोकारवालाहरूको सहयोग र सहकार्यको खाँचो रहेको कुरा औँल्याउनु भयो ।
पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दुधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पोखरा म्याराथन सँग सहकार्य गर्दै आएको सफल दुधले आगामी तीन वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौता–पत्र आदान प्रदान समेत गर्नु भएको छ ।
कार्यक्रममा आफ्ना मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रुपमा स्थापित गर्न परिषद्ले समेत आफ्ना कार्यक्रमहरू तय गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्