साढे चार महिनापछि मन्त्री गुरुङको सम्पत्ति सार्वजनिक

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले मन्त्री भएको साढे चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान रहे पनि मन्त्री गुरुङले साढे चार महिनापछि मात्र सम्पत्ति विवरण पेश गर्नुभएको हो ।
उहाँले अर्कैको नाममा जग्गा रहेको देखि आफू ऋणमा रहेको विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री गुरुङले सम्पत्ति पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिएको र आफु डेढ करोड ऋणमा रहेको विवरण पेश गर्नुभएको छ ।
२०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा समेत खेप्नु भएका मन्त्री गुरुङले युवा साथीहरूको नाममा आफूले थुप्रै लगानी गरेको समेत उल्लेख गर्नुभएको छ ।
उहाँले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौँ–२९ धर्मस्थलीमा प्रतिआना ९ लाख रुपैयाँमा किनेको कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको उल्लेख गर्नुभएको छ ।
चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा, पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दामको जग्गा छोराको नाम र अन्य व्यक्तिको नाममा रहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले २२ तोला सुन र ४५ तोला चाँदी वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट प्राप्ति गरेको उल्लेख पनि गर्नु भएको छ । मन्त्री गुरुङले एभरेष्ट बैङ्क पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ रकम रहेको विवरण पेश गर्दै उक्त पैसा सांसद र मन्त्री हुँदा प्राप्त गरेको बताउनुभएको छ ।
उहाँले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको पनि सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । मन्त्री गुरुङले विभिन्न स्थानमा गाई तथा भैँसी फर्म पनि रहेको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्