प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : अध्यक्ष नेपाल

कैलाली। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।”
देशको स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उहाँको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भन्नुभयो । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उहाँले उल्लेख गर्नुभयो । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष नेपालले राष्ट्रिय सभा सदस्यको निर्वाचन हुन्छ, प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुन्छ, अर्ली ईलेक्सन हुँदैन भन्नुहुँदै आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरूको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले तीन दलले दुई/दुई प्रदेशमा सरकारको नेतृत्व लिने भन्ने सल्लाह भइरहेको उल्लेख गर्दै तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने सङ्केत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्