एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । काठमाडौँमा आयोजित भेलाबाट प्रादेशिक इन्चार्ज, सह इन्चार्ज लगायत पदाधिकारी सहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराउनुभयो । इन्चार्ज केदार न्यौपानेले कार्य योजनासम्बन्धी विषय प्रस्तुत गर्नुभयो भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्य विभाजनसम्बन्धी विषय प्रस्तुत गर्नुभयो ।
प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकता अनुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ ।
स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेशलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्