तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपका विद्यालयहरू शनिवारको दिन पनि सञ्चालन गर्ने निर्णय

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा कोभिड–१९ का कारण विद्यार्थीहरूको पढाइलाई मध्यनजर गर्दै शनिवारको दिन पनि नगरका सम्पूर्ण विद्यालयहरू सञ्चालन गर्ने निर्णय भएको छ । 

शिक्षा शाखाद्वारा बिहीबार आयोजित नगरपालिकाको सभाहलमा बसेको प्रधानाध्यापकहरूको बैठकले नगर भित्र अब उप्रान्त बिदाको दिन पनि विद्यालय सञ्चालन गर्ने, विद्यालय प्रत्येक दिन बिहान ९ बजे देखि सञ्चालन गर्ने तथा दशैं बिदा फूलपातीबाट गर्ने निर्णय गरेको र कोभिड १९ का कारण विद्यार्थीहरूको पढाइलाई मध्यनजर गर्दै शनिवारको दिन पनि कञ्चनरुपका सम्पूर्ण विद्यालयहरू सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखाका ललित नारायण यादवले बताउनुभयो ।

त्यसै गरी प्रथम चौमासिक माग फारम २०७८ साल असोज १२ गते भित्र पेश गर्ने, विद्यालयमा निरन्तर रुपमा दिवा खाजा सञ्चालन गर्ने, २०७८ साल कात्तिक १० गते भित्र सम्पूर्ण सामुदायिक विद्यालयहरूमा अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्ने जस्ता महत्त्वपूर्ण निर्णय भएको यादवले बताउनुभयो ।

साथै असोज २२ र २३ गते आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय गीत तथा नृत्य प्रतियोगिता गर्ने, साथै यसै वर्ष कात्तिकमा मेयरकप र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने, अतिरिक्त क्रियाकलापका लागि खेल सामग्री फुटबल, भलिबल, व्याटमिन्टन, लुडो, स्किपिङ्ग, चेस आदिका साथै विभिन्न विद्यालयहरूमा शिक्षा सामग्री समेत उपलब्ध गराउने । जस्तै कम्प्युटर, प्रिन्टर, बालविकासमा एलइडि आदि उपलब्ध गराउने जस्ता निर्णय समेत भएको शिक्षा शाखाले जनाएको छ ।

नगर प्रमुख वसन्त कुमार मिश्रले कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा नराम्रो असर परेको हुँदा अब विद्यार्थीको भविष्यलाई राम्रो बनाउन गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा बिना मानिसको जीवन अन्धकारमा धकेलिने भएकाले शिक्षाको विकासमा सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख वसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा बसेको बैठक शिक्षा अधिकृत प्रेम कुमार चौधरीले अध्यक्षता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button