तपाईँ सुन्दै हुनुहुन्छः

सडक मर्मत नहुँदा स्याउ ढुवानीमा समस्या

लमजुङ । हिमाली जिल्ला मनाङमा यातायात समस्याका कारण स्याउ ढुवानीमा समस्या हुने भएको छ । जिल्लामा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको स्याउ टिप्ने बेला भए पनि अहिलेसम्म विग्र्रिका सडक संरचना निर्माण हुन नसक्दा कतिपय ठाउँको उत्पादित स्याउले बजार पाउन समस्या भएको हो । 

मनाङमा वार्षिक करोडौँ रुपैयाँको स्याउ उत्पादन हुँदै आएको छ । व्यावसायिक रुपमा उत्पादन गरिएको स्याउ बजारीकरणका लागि समयमै ढुवानी गर्न समस्या हुने भएपछि कृषकहरू निराश भएका छन् । गत असारमा आएको बाढी र पहिरोले भत्किएको सडक अहिलेसम्म सुचारु नहुँदा करोडौँ रुपैयाँका स्याउ ढुवानीमा समस्या हुने भएको एग्रो मनाङ प्रालिका प्रोप्राइटर समराज गुरुङले बताउनुभयो ।

मनाङको ङिस्याङ गाउँपालिका १, भ्राताङमा एग्रो मनाङले मात्रै सातसय ५० रोपनी भन्दा बढी क्षेत्रफलमा व्यावसायिक स्याउ खेती गरेको छ । एग्रो मनाङले अघिल्लो वर्षको तुलनामा बढी स्याउ उत्पादन भए पनि ढुवानीमा समस्या हुने जनाएको हो । 

नेपालको उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटि एप्पल फार्म’ सुरु गरेको एग्रो मनाङ प्रालीले स्याउका विभिन्न परिकार उत्पादन गर्न थालेपछि उत्पादित परिकारहरूमा ग्राहकहरूको आकर्षण बढ्दै गएको थियो । विगत सात वर्षदेखि व्यावसायिक स्याउ उत्पादन र विक्री गर्दै आएको कम्पनीले हालसम्मको उत्पादन सन्तोषजनक रहेको जनाएको छ ।

एग्रो मनाङले स्याउ स्टोर गर्नका लागि आवश्यक संरचना र उपकरण ल्याए पनि विद्युत् नहुँदा झनै समस्या भएको छ । बाढी र पहिरोले मनाङसम्म पुग्ने केन्द्रिय विद्युत् प्रसारणको लाइन पनि क्षत विक्षत बनाएपछि कोल्ड स्टोर सञ्चालनमा समस्या भएको छ । नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटि एप्पल फार्म’ सुरु गरेको एग्रो मनाङ स्याउ फार्मले यो बर्ष मात्रै चार सय टन बढी स्याउ उत्पादन हुने जनाएको छ ।  
एग्रो मनाङले मात्रै विभिन्न तीन प्रजातिका स्याउ उत्पादन गरेको जनाएको छ । इटाली र सर्बियाबाट धेरै फल दिने फुजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको कम्पनीले जनाएको छ । उत्पादित स्याउ मेसिनमार्फत नै ग्रेडिङ (छनोट) गरेर छुट्टाएर बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ । 

एग्रो मनाङले माथिल्लो मनाङको मनाङ, टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाको सगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेती थालेको हो । २७ वर्षका लागि जग्गा भाडामा लिएर तीन जातका स्याउ लगाइएको यस स्याउ फार्ममा २५ करोडसम्मको लगानी छ । स्याउ खेतीसँगै पिसाङमा जुस उद्योग र कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएको छ । स्याउको चिप्स समेत कम्पनी आफैले बनाउँदै आएको छ ।

 स्याउको बोटले दुई वर्ष देखीबाटै फल दिन सुरु गरेको र प्रत्येक बर्ष उत्पादन बढ्दै गएको कम्पनीले जनाएको छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कम्पनीको दाबी छ । कम्पनीले स्याउको जुस, चिप्स, केक लगायतका परिकारहरू पनि उत्पादन तथा विक्री गर्दै आएको छ । नयाँ प्रविधिको सीप देशका अन्य कृषकलाई पनि हस्तान्तरण गरी मुलुकलाई स्याउमा आत्मनिर्भर गराउने उद्देश्य अनुरूप पछिल्लो समय आफ्नो व्यावसायिक सिप जिल्लाकै अन्य क्षेत्र र अन्य जिल्लामा समेत विस्तार गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button