तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा खर्च वृद्धि

रुपन्देही । सङ्घीय सरकारको गौरवको आयोजना रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा ढिलाइ भएको छ । भौतिक निर्माणको ९८ प्रतिशत पूरा भएको यो आयोजनाको अन्तिम चरणमा ढिलाइ हुँदा लागत पनि बढिरहेको छ । 

आयोजनाका अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । चार वर्षअघि सम्पन्न गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ अझै टुङ्गो छैन । सरकारले लुम्बिनी घुम्न चाहने पर्यटकलाई लक्षित गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढाइएको हो । आर्थिक वर्ष २०७२÷७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएको चार वर्ष बितिसकेको छ । तर काम अझै सकिएको छैन । करिब ३१ अर्ब लागतको यो आयोजनाले कोभिडको बहाना बाजी गरेको छ । 

जग्गा अधिग्रहणमा ढिलासुस्ती तथा चिनियाँ ठेकेदार र नेपाली सहायक ठेकेदार कम्पनीबीचको विवाद पनि यो आयोजनाको अवधि लम्बिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो । विमानस्थल आयोजनाले ९८ प्रतिशत भौतिक प्रगति भएको बताए पनि विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ,  आयोजनासँग नै जवाफ छैन । 

त्यस सँगै सञ्चालनपूर्व गरिने परीक्षण उडानको पनि टुङ्गो लागेको छैन । यता नागरिक उड्डयन प्राधिकरण अब भारतको नागरिक उड्डयन प्राधिकरणलाई बोलाउने गृहकार्यमा लागेको बताइएको छ । उसलाई बोलाउन प्राधिकरणले गरेको पत्रको मसौदा पर्यटन मन्त्रालयमा अड्किएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button