काँग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
१ सय ८ औँ बिपी जयन्तीका अवसरमा बिपी सङ्ग्रहालय सुन्दरीजलमा आज आयोजित कार्यक्रममा प्रवक्ता शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
कार्यक्रममा प्रवक्ता शर्माले मुलुकको विकास र समृद्धिका लागि नेपाली काँग्रेसले युवाको भावनालाई सम्बोधन गर्ने बताउनुभयो ।
नेता शर्माले देशव्यापी रुपमा काँग्रेसमा नयाँ जोस र उत्साह थपिएकोले बिपी कोइरालाको सदिच्छा पुरा गर्न यो उत्साहले थप सहयोग गर्ने उल्लेख गर्नुभयो ।

प्रवक्ता शर्माले बिपी कोइरालाले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार काँग्रेसले जित्नुपर्छ भन्नुभएको स्मरण गर्नुहुँदै आफू महामन्त्री निर्वाचित भए आमनिर्वाचनमा काँग्रेसलाई लगातार तीन पटक जिताउन भूमिका खेल्ने बताउनुभयो ।
त्यस अवसरमा बिपी कोइरालालगायतका नेताहरूको शालिकमा माल्यार्पण गर्नुका साथै प्रवक्ता शर्माले बिपीले रोप्नुभएको कपुरको रुखमा जल सेचन गर्नुका साथै रुद्राक्षको बिरुवा रोप्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्