तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा चार कार्यालय थपिए

बागमती। बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरल रूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ ।

वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढी पहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन विकास आयोजनाअन्तर्गत एउटा उपशाखा गरी चार वटा कार्यालय थप गर्ने निर्णय भएको हो ।

बाढी पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोटमा तीन वटा भूसंरक्षण कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो । प्रदेश सरकारले काठमाडौँमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको सूचना अधिकारी पुडासैनीले बताउनुभयो ।

यसअघि यस प्रदेशमा ललितपुरमा एउटा तथा सिन्धुपाल्चोक जिल्लामा एउटा गरी दुई भूसंरक्षण कार्यालय स्थापना गरिएको थियो । बाढी पहिरो नियन्त्रणका लागि उक्त कार्यालयबाट सम्भव नभएकाले थप कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

यस प्रदेशको १३ वटै जिल्लाबाट पर्यटन विकाससम्बन्धी सेवा र योजनाको सम्झौताका लागि हेटौँडा आउनुपर्ने बाध्यता हटाउन काठमाडौँमा उपशाखा स्थापना गर्ने भएको छ । उपशाखाबाट ससाना योजना, उपभोक्ता समूहबाट हुने योजनाको सेवाको प्रवाह हुने बताइएको छ तर ठुला ठेक्का र योजनाको काम आयोजनाको हेटौँडाबाट हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button