‘यथाशीघ्र सुरक्षित उद्धारका लागि पहल भइरहेको छ’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले हालसम्म अफगानिस्तानमा रहेका सबै नेपालीहरू सुरक्षित रहेको र यथाशीघ्र सुरक्षित उद्धारका लागि पहल भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री खाँडले नेपालीहरूको उद्धारका लागि सरकारले अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घ तथा सम्पूर्ण मित्रराष्ट्रका नियोगहरूलाई आग्रह गरिसकेको र सबैबाट सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिनुभयो ।
गृहमन्त्री खाँडले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षालाई ध्यानमा राखेर सरकारले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल अफगानिस्तानको पछिल्लो राजनैतिक घटनाप्रति तटस्थ रहने सन्देश दिएको र त्यसले अफगानिस्तानका द्वन्द्वरत पक्ष तथा अन्तर्राष्ट्रिय समुदायबाट मित्रतापूर्ण व्यवहारको अपेक्षा गरेको बताउनुभयो ।
गृहमन्त्री खाँडले अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय, विभिन्न देशका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाका कार्यालयहरूमा करिब १ हजार ५ सय जना नेपाली कार्यरत रहेको तथ्याङ्क प्राप्त भएको र अन्य अनौपचारिक क्षेत्रमा कार्यरत रहेका नेपालीको तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।
अफगानिस्तानमा नेपाली दूतावास तथा कूटनीतिक नियोग नरहेका कारण नेपालीहरूको तथ्याङ्क सङ्कलन तथा सम्पर्क तथा उद्धारका लागि मित्रराष्ट्रका कूटनीतिक नियोगहरूको सहयोग लिनुपरेको गृहमन्त्री खाँडले स्पष्ट पार्नुभयो । गृहमन्त्री खाँडले अफगानिस्तानमा सर्वसाधारणका लागि कुनै पनि जहाजले उडान भर्ने अवस्था नरहेको र अमेरिकी सेनाको जहाजले मात्रै त्यहाँ रहेका विभिन्न देशका नागरिकको उद्धार गरिरहेको बताउनुभयो ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले तालिबानले संयुक्त राष्ट्रसंघलाई अफगानिस्तानमा रहन लिखित रूपमा आग्रह गरिसकेको र संयुक्त राष्ट्रसङ्घले समेत अफगानिस्तानमा रहिरहने आशय दिएको हुनाले त्यहाँ रहेका नेपालीको जानकारी लिन तथा उद्धारका लागि संयुक्त राष्ट्रसङ्घीय नियोग मार्फत आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।
सचिव पौडेलले नेपालीहरू कार्यरत रहेका विभिन्न निकायहरू मार्फत परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारी अनुसार हाल सम्म सबै नेपालीहरू सुरक्षित रहेको र केही नेपालीहरू अझै अफगानिस्तानमै रहन चाहेको सूचना प्राप्त भएको समेत जानकारी दिनुभयो ।
बैठकमा सांसदहरू मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, अतहरकमाल मुसलमान, लालबहादुर थापा लगायतले नेपालीको उद्धारका लागि सम्भावित सबै उपायहरू अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समितिका सभापति कृष्णभक्त पोख्रेलको अध्यक्षतामा बसको बैठकले अफगानिस्तानमा रहेका सबै नेपालीको सुरक्षित उद्धारका लागि सरकारलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्