दमौलीको फोहोर ६ दिनदेखि उठेन

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा अहिले जहाँतहीँ फोहोरको डुङ्गुर छ ।
पृथ्वी राजमार्गको सडक छेउ पर्ने व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ को चोक चोकमा फोहोर थुप्रो देख्न सकिन्छ । गत बिहीबारदेखि थुप्रिएको फोहोर ६ दिन बितिसक्दा समेत उठ्न सकेको छैन ।
व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा फोहोर जन्य वस्तु र प्लास्टिकका पोकाहरू फाल्न निषेध गरेको छ । फोहोर फालेमा रु ५ सयदेखि ५० हजारसम्म जरिवाना हुने भनेर सार्वजनिक सूचना टाँसेको छ तर सोही सूचनाको तल फोहोरका डुङ्गुर थुपारिएको छ ।
चोक चोकमा फोहोरको डुङ्गुर
व्यास–४ स्थित व्यास नगर अस्पताल जाने बाटो, भोर्लेटार चोक नजिक पनि त्यस्तै फोहोरको डुङ्गुर छ । बोराका बोरा फोहोरको डङ्गुर ल्याएर जथाभाबी फालिएको छ । यी ठाउँमा मात्रै होइन, यति बेला दमौलीका विभिन्न टोलमा पनि फोहोर को यस्तै डङ्गुर देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय अघि पनि त्यस्तै फोहोरका थुप्रो देख्न सकिन्छ ।
व्यास नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको व्यास–३ भतेरीस्थित फोहोर विसर्जन केन्द्र वर्षाले भत्काएपछि नगरपालिकाले १ वर्ष अघि व्यास–१ को मोहोरियास्थित रामदेव पन्थको निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर त्यहाँ पनि भरिएपछि अहिले फोहोर व्यवस्थापनमा समस्या देखिएको हो ।
नगरपालिकाले फोहोर उठाउने साधन नआउँदै घरबाहिर फोहोर ननिकाल्न सर्वसाधारणलाई आग्रह गर्ने गरेको छ तर सर्वसाधारणले अटेर गर्दै दमौलीका विभिन्न स्थानमा जथाभाबी फोहोर फालिदिएका छन् ।
फोहोर नउठ्दा दमौलीका चोक चोकमा थुप्रो जम्मा भएको छ । बजार दुर्गन्धित हुँदा पनि नगरपालिकाले फोहोर व्यवस्थापनमा छिटोछरितो ध्यान नदिएको व्यास–२ की सिर्जना कायस्थले गुनासो गर्नुभयो ।
अझै २–३ दिन फोहोर नउठ्ने
नगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले बजार क्षेत्रबाट फोहोर उठाउन नसकिएको जनाएको छ । नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख कृष्णराज घिमिरेले भन्नुभयो ‘फोहोर व्यवस्थापनका लागी ठाउँ हेर्दैछौ, अझै २–३ दिन फोहोर उठ्दैन ।’
घिमिरेले फोहोर फाल्ने वैकल्पिक स्थानको खोजी भइरहेको जानकारी दिनुभयो । व्यास–१३ को सुँडेमा २ वर्षको लागी हुने गरी अस्थायी ठाउँ हेरिएको घिमिरेले जानकारी दिनुभयो । यस्तै व्यास –१ स्थित निर्मल नगरमा आदिकवि भानुभक्त क्याम्पसको जग्गामा फोहोर सङ्कलन केन्द्र बनाउन सकिने भएकाले क्याम्पसलाई अनुरोध र समन्वय गरिएको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘क्याम्पसले अनुमति दिए त्यहाँ फोहोर सङ्कलन गरिनेछ ।’
अहिले नकुहिने फोहोर मात्रै नउठेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘कुहिने फोहोर भने व्यास–१० को गौ संरक्षण केन्द्रमा कम्पोस्ट मल बनाउन लागिएको छ ।’ अस्पताल जन्य फोहोर पनि उठाइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्