तपाईँ सुन्दै हुनुहुन्छः

झापामा भोलिदेखि लकडाउन खुकुलो बनाइने

झापा । जिल्लामा संक्रमण दर उच्च रहे पनि झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ ।


जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुला गर्ने निर्णय गरेको छ । व्यवसायीहरूबाट चौतर्फी दबाब दिइएपछि समितिले लकडाउन खुकुलो गर्ने निर्णय गरिएको बताइन्छ । 


तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल बिहान ६ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाइने भनिएको छ ।


डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाए पनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ । मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।


स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने विषयमा फेरि लापरबाही भए ७ दिनपछि पूर्ण लकडाउन गर्ने प्रशासनले योजना बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button