बहाव बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलियो

सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
कोसी ब्यारेजमा आज आइतबार दिउसो २ बजे २ लाख २४ हजार ८० क्युसेक पानीको बहाव मापन गरिएको साथै बराह क्षेत्रमा १ लाख ३४ हजार ४ सय ५० क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल जानकारी दिनुभयो ।
निरन्तर वर्षा भइरहेकोले हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा २९ वटा ढोका खोलिएको र निरन्तर पानीको बहाव बढे पनि अहिलेसम्म तटीय क्षेत्रमा कुनै समस्या भने नदेखिएको प्र.जि.अ. ढकाल जानकारी दिनुभयो ।
पानीको बहाव बढ्ने क्रम निरन्तर भएकोले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने सुनसरी प्रशासनले जानकारी दिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ ।
त्यसैगरी बराह क्षेत्रको चतरामा पनि पानीको बहाव बढिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्