तनहुँ जलविद्युत आयोजनाद्वारा थप जग्गा अधिग्रहण

तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिका स्थित झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाले थप २३ रोपनी ५ आना जग्गा अधिग्रहण गरेको छ ।
१ सय ४० मेगावाट विद्युतीय क्षमता सहितको आयोजनाले उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न आवश्यक पर्ने टावर निर्माणका लागी जमिन अधिग्रहण गरेको हो ।
जिल्लाको ब्यास नगरपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका अन्तर्गत रहेका ६० कित्ता जमिन अधिग्रहण गर्ने निर्णय भएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो ।
राष्ट्रिय महत्त्वको निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाले प्रभावितलाई १ करोड ३१ लाख ३४ हजार ५ सय १० रुपैयाँ मुआब्जा उपलब्ध गराउनेछ ।
मालपोत र नापी कार्यालयको सिफारिस, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर मुआब्जाको रकम निर्धारण गरिने आयोजना प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
२०६२ सालमा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने यो आयोजना नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ । जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहने छ ।
आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङ मार्ग निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पुर्याएर विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्