तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वरमा १ करोड १५ लाखको लागतमा मन्दिर निर्माण

काठमाडौँ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ भूमिस्थलीमा रहेको रामकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।


गोकर्णेश्वर नगरपालिका र रामकृष्ण मन्दिर व्यवस्थापन समितिको साझेदारीमा १ करोड १५ लाख ९० हजारको लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो ।


मन्दिर परिसरमा योग हल, ज्येष्ठ नागरिक विश्राम स्थल र प्रवचन कक्ष समेत निर्माण गरिएको छ ।


मन्दिरको आज उद्घाटन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पशुपतिदेखि वागद्वारसम्म वाग्मती नदी क्षेत्रलाई धार्मिक परिपथका रुपमा विकास गर्ने लक्षका साथ नगरपालिकाले कार्य अघि बढाएको बताउनुभयो ।


उपप्रमुख शान्ति नेपाल र एक नम्बर वडाका अध्यक्ष राम मानन्धरले नगरपालिका क्षेत्र भित्र रहेका मठमन्दिर एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, दामोदर खनाल, शेरलाल श्रेष्ठ, शङ्कर घिमिरे लगायतले मन्दिर परिसरमा ज्येष्ठ नागरिकका लागि सत्सङ्ग, नियमित योग अभ्यास एवं विभिन्न सामाजिक कार्य सञ्चालन गर्ने गरिएको बताउनुभयो । 


त्यस अवसरमा नगरप्रमुख सन्तोष चालिसेले मन्दिर निर्माणका लागि ३० लाख नगद सहयोग गर्नुहुने स्थानीय गोपाल श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button