प्रचारप्रसार र अध्ययनको अभावले ओझेलमा जनाली झरना

अछाम । अछामको मङ्गलसेन नगरपालिकामा पर्ने जनाली झरना (धौनाको छडो) प्रचार प्रसार र अध्ययनको अभावमा ओझेलमा परेको छ । नगरपालिकाको वडा नं. ७ अन्तर्गत जनाली रवामा पर्ने झरनाको बारेमा आवश्यक प्रचार प्रसार नहुँदा ओझेलमा परेको हो ।
करिब २०० मिटर अग्लो झरना बाह्रै महिना अविरल बगिरहन्छ । झरनाको बारेमा सम्बन्धित सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको स्थानीय धर्म राज जैशीले बताउनुभयो । पर्यटकको मनै लोभ्याउने झरनाका बारेमा कसैलाई पनि जानकारी नहुन दुःखद भएको उहाँको भनाई छ ।
तल र माथि गरेर दुई वटा मनमोहक झरना रहेको उक्त ठाउँमा पछिल्लो समयमा भने आन्तरिक पर्यटकहरू जाने गरेका छन् । शनिबार मात्रै जिल्ला अस्पतालमा कार्यरत र अन्य गरेर ३० जना त्यहाँ पुगेको स्थानीय स्वास्थ्यकर्मी धर्मराज जैशीले बताउनुभयो । केही समय पहिले अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले पनि झरनाको अवलोकन गरेका थिए ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाका बारेमा नगरपालिका तथा वडा कार्यालयले पनि चाँसो नदिएको स्थानीयको गुनासो छ । जनाली झरना मनोरम दृश्यले भरपूर्ण मनमोहक ठाउँ छन् । निकै अग्लो र ठुलो झरना पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको अवलोकनमा जानु भएका एकेन्द्र खत्रीको भनाई छ ।
करिब २ यस मिटर अग्लो झरना संगै तल ठुलो ताल समेत छ । ताल पनि निकै गहिरो रहेको तत्कालीन जनालीवण्डाली गाविसका उपाध्यक्ष खड्के कामीले बताउनुभयो ।
झरना कति लामो छ र ताल कति गहिरो छ भन्ने कुराको हालसम्म कुनै निकायबाट अध्ययन भएको छैन । तल्लो झरनामा जान बाटो त्यही भएर जाने तर माथिल्लो झरनामा जान बाटोको समेत समस्या रहेको स्थानीयको भनाई छ ।
तत्कालीन जनाली बण्डाली गाविसको वडा नं. ९ मा पर्ने झरनाका बारेमा हालसम्म पनि कुनै सुनुवाइ हुन सकेको छैन । वडा कार्यालयले जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकालाई सिफारिस सहित आग्रह गर्नुपर्ने स्थानीय विष्णु खड्काले बताउनुभयो ।
तत्कालीन कालाँगाउ गाविसको कालापानीको हिमिने लेखबाट मुहान भई बग्ने रवा तत्कालीन कमलबजार नगरपालिका वडा नं. ६ विरपथ र मङ्गलसेन नगरपालिका वडा नं. ७ जनालीबाट लोडे घाट हुँदै सेतीमा नदीमा मिसिने गरेको छ ।
झरना हेर्न कसरी पुग्ने ?
जनाली झरना हेर्नका लागि सबै भन्दा पहिले मङ्गलसेन नगरपालिका अन्तर्गत वडा नं. ६ ठुलासैन पुग्ने त्यहाँ सम्म पिच बाटो रहेको छ । जिप, मोटरसाइकल, बसको यात्रा गरेर त्यहाँ सहजै पुग्न सकिन्छ । अछाम सदरमुकाम मङ्गलसेनबाट सवारी साधनमा करिब १५ मिनेटमा ठुलासैन पुग्न सकिन्छ ।
त्यसपछि मङ्गलसेन नगरपालिकाको वडा नं. ७ को वडा कार्यालय हुँदै जाल्पा माध्यमिक विद्यालयसम्म मोटरसाइकल तथा जिपको यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । यसका लागि करिब ३० मिनेट र ठुला सैनबाट पैदल यात्रामा करिब १ घण्टामा विद्यालय पुग्न सकिन्छ । त्यसपछि २० मिनेट हिँडेर सहजै जनाली झरनामा पुग्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्