तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा तुलसी जयन्ती सुरु

जनकपुरधाम । तुलसीकृत रामायणका रचनाकार सन्त तुलसी दासको जयन्ती आज देखि जनकपुरधाममा ९ दिवसीय धार्मिक कार्यक्रमको आयोजना गरेर मनाउने कार्यको शुभारम्भ भएको छ ।


श्रीरानन्दीय श्री वैष्णव सङ्घको आयोजनामा तुलसी स्मारकमा सुरु भएको नौ दिवसीय तुलसी जयन्ती कार्यक्रममा ९ दिनसम्म तुलसी दासले रचना गर्नुभएको रामायणको सङ्गीतमय वाचन, सङ्कीर्तन, सत्सङ्ग तथा बधाई गान सहितको कार्यक्रम रहेको वैष्णव संघका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभएको छ ।


जनकपुरधामको वडा नंं ८ मा रहेको तुलसी स्मारकमा २०१६ सालदेखि नै तुलसी जयन्ती भव्य कार्यक्रमको आयोजना गरेर मनाइँदै आएको संघका वरिष्ठ सल्लाहकार रामभजन दासले जानकारी दिनुभयो ।


प्रत्येक दिन बिहान ८ः ३० देखि दिउँसो १२ बजेसम्म तथा बेलुका ४ बजे देखि ८ बजेसम्म रामायण नवाह परायण गर्ने कार्यक्रम रहेको छ । प्रायः प्रत्येक दिन नै भण्डार भए पनि अन्तिम दिन विशेष भण्डाराको कार्यक्रम रहेको सङ्घले जनाएको छ ।


अहिले प्रदेश सरकारको आर्थिक सहयोगमा पुरानो जीर्ण तुलसी भवनको ठाउँमा नयाँ भवनको निर्माणको शुभारम्भ गरिएको छ । तुलसी दासले रचना गर्नु भएको रामायण जनजनमा लोकप्रिय रहेका छन् । भाषा सरल भएकाले नै यो रामायण निक्कै लोकप्रिय भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button