दमक नगरपालिकालाई ४१ लाख बराबरको स्वास्थ्य उपकरणहरू उपलब्ध

झापा । दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दमक नगरपालिकालाई करिब रु ४१ लाख ७५ हजार बराबरको स्वास्थ्य उपकरणहरू उपलब्ध गराएको छ ।
सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले नगरपालिकालाई एक थान अत्याधुनिक भेन्टिलेटर, ६ थान अक्सिजन कन्सट्रेटर उपकरण सहित विभिन्न स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइएको सङ्घले जनाएको छ ।सङ्घले आज एक कार्यक्रम गरी ती स्वास्थ्य सामाग्रीहरू नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।
निजी क्षेत्र, सङ्घसंस्था, व्यक्तिहरू तथा लायन्स क्लबको सहयोग जुटाएर ती स्वास्थ्य उपकरणहरू प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सङ्घले सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो ।
अभियानका संयोजक प्रसाईँका अनुसार दमकका उद्योगी, व्यवसायीका तर्फबाट रु ७ लाख ७७ हजार र अन्य रकम भने लायन्स क्लब अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाइएको थियो ।नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरू दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा जडान गरी छिट्टै सञ्चालनमा ल्याउने नगर प्रमुख ओलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्