तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार संस्था र सञ्चारकर्मीलाई प्रेस युनियनको सहयोग

सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन, जिल्ला शाखा सिन्धुपाल्चोेकले बाढी प्रभावित सञ्चार संस्था र सञ्चारकर्मीहरूलाई आर्थिक सहयोग गरेको छ । आज मेलम्ची बजारमा कार्यक्रम गरी रेडियो मेलम्ची र सञ्चारकर्मीहरूलाई सहयोग गरिएको हो । 


युनियनमा आबद्ध व्यक्तिहरूबाट रकम सङ्कलन गरी सहयोग गरिएको युनियन सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो । रेडियो मेलम्चीलाई २० हजार, त्यस्तै बाढीबाट प्रभावित सञ्चारकर्मी महेश श्रेष्ठ, जगन्नाथ दुलाल, दुर्गा दुलाललाई २०–२० हजार रुपियाँ सहयोग गरिएको सचिव कमला पाख्रिनले जानकारी दिनुभयो ।


त्यस्तै विभिन्न समयमा बिरामी भई आफ्नो काममा निरन्तर लागिरहने सञ्चारकर्मीलाई पनि सहयोग गरिएको छ । सन्तोष सिग्देल, विदुर गिरी, सम्झना कार्की, किशोर बुढाथोकी लगायत पत्रकारलाई ५–५ हजार सहयोग गरिएको हो । 


कार्यक्रममा पत्रकार महासङ्घ सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष विष्णु न्यौपानेले रेडियो मेलम्चीको भवन निर्माणका लागि सय बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  त्यस्तै नेपाल पत्रकार महासङ्घ, सिन्धुपाल्चोकका पूर्व अध्यक्ष ऋषिराम पौडेलले प्रभावितहरूको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । 


कार्यक्रममा सहयोग ग्रहण गर्दै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्तै सहयोग र सद्भावले फेरि पनि रेडियो मेलम्ची आफ्नै लयमा फर्कन सक्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button