सडकमा निर्माण सामग्री, कवाड राख्ने तथा फोहोर फाल्ने विरुद्ध कारबाही सुरु

बीरगंज । बीरगंज महानगरपालिकाले आजबाट अनधिकृत रुपमा सडक तथा फुटपाथमा निर्माण सामग्री, कवाड राख्ने तथा फोहोर फाल्ने विरुद्ध कारबाही सुरु गरेको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा वीरगन्जमा झन्डै ५ अर्बको लागतमा बाइपास, रेल्वे, लिङ्क रोड, इनर बाइपास लगायतका दर्जनौँ सडकहरू निर्माण तथा स्तर उन्नति गरिएको र सडक निर्माणसँगै वीरगन्जको स्वरूप फेरिए पनि नवनिर्मित सडकमा अनियन्त्रित रुपमा सवारी साधन पार्किङ गर्ने, निर्माण सामग्री र कवाड राख्ने, फोहोर फाल्ने जस्ता गतिविधि बढ्दै गएपछि महानगरपालिकाले अटेरी गर्नेलाई कारबाही सुरु गरेको नगर प्रमुख विजय सरावगीले बताउनुभयो ।
सडक तथा फुटपाथमा गिटि, बालुवा इँटा तथा कवाड राखी सर्वसाधारणलाई आवत जावतमा कठिनाइ सृजना गर्ने, नाला जाम गराउने, नालामा फोहर फाल्ने विरुद्ध वीरगन्ज महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखा, नगर प्रहरी तथा निजी साझेदारीका सरसफाइ टोलीको संयुक्त आयोजनामा नगवा चोकदेखि बैष्णो देवी मन्दिर सम्मका सडक किनारका अतिक्रमण हटाइएको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिनुभयो ।
त्यस क्रममा सडकमा अनधिकृत रुपमा राखिएका १२ ट्याक्टर गिटी बालुवा, ढुङ्गा, इँटा, नियन्त्रणमा लिएको र ५ ट्याक्टर सडकमा राखिएको कवाड सामग्री समेत नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको मियाले बताउनुभयो ।
सडकमा अनधिकृत रुपमा निर्माण सामग्री राख्नेहरूलाई महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ को दफा २५(१२) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने र निर्माण सामग्री समेत जफत गरिने प्रावधान रहेको नगर प्रमुख विजय सरावगीले जानकारी दिनुभयो ।
उहाँले वीरगन्जलाई सुन्दर र सडक अतिक्रमणरहित सहर बनाउन नगरवासीको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्