तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रधानमन्त्री देउवालाई दलका नेताहरूको बधाई

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई दलका नेताहरूले बधाई एवं शुभकामना दिनुभएको छ । 


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले नेताहरूले जनतालाई गलत सन्देश दिनु नहुने उल्लेख गर्नुहुँदै आफ्नो दलले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।  

उहाँले बेठिक कुरालाई बेठिक र ठिकलाई ठिक भन्दै जिम्मेवार प्रतिपक्षी बन्ने र प्रधानमन्त्रीले यसलाई सहयोगको रुपमा लिनुपर्ने बताउनुभयो । अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन पनि नेता नेम्वाङले आग्रह गर्नुभयो । 

बैठकमा सत्तारुढ पार्टी नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिनुहुने सम्पूर्ण सांसदलाई धन्यवाद दिनुभयो । नेता सिंहले आफु सत्तामा हुँदा संस्कारको ख्याल नगर्ने तर अहिले संस्कार खोज्ने भन्दै प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई प्रश्न गर्नुभयो । 

उहाँले सरकारले जिम्मेवारपूर्ण संविधानको मर्म, विधिको शासनलाई मनन गरेर अगाडि बढ्ने उल्लेख गर्दै छिमेकी देशहरूको नीतिलाई प्रधानमन्त्रीले सन्तुलित राख्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले अहिलेको जित जनताको जित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवा संसदले चुनेको प्रधानमन्त्री भएको बताउनुभयो । 

नेता गजुरेलले इतिहासको समीक्षा गरेर संविधानको रक्षा गर्नका लागि प्रधानमन्त्रीले अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउनुपर्ने बताउनुभयो । 

जनता समाजवादी पार्टी जसपाका सांसद अनिल कुमार झाले कोरोना महामारीबाट जनतालाई बचाउन यथाशीघ्र खोपको व्यवस्था गरी सबैलाई कोरोनाको भयबाट मुक्त गराउनुपर्ने बताउनुभयो । 

सांसद महेन्द्र राय यादव, सांसद राजेन्द्र प्रसाद लिङदेन, सांसद दुर्गा पौडेल, सांसद प्रेम सुवाल लगायतले प्रधानमन्त्री देउवालाई बधाई दिनुभयो । 


प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभएको छ । 


यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७८ पेश गर्नुभयो । 


अर्को बैठक साउन १२ गते मङ्गलवार दिनको १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button